काठमाडौं । काठमाडौं पोड वे कम्पनीले उपत्यका विकास प्राधिकरणसँग सहकार्य गरी माइक्रो रेल (पोड वे) बनाउने योजना बनाएको छ । जस अन्तर्गत पहिलो चरणमा ६१ किलोमिटर पोड वे बनाउने तयारी भइरहेको छ । पोड वे करिडोर क्षेत्रमा बनाउन लागिएको हो । करिडोर क्षेत्रमा सो रेलको निर्माण गरी सञ्चालन गर्ने सोँच बनाइ प्राधिकरण र पोड वे कम्पनी बीच छलफल भइरहेको कम्पनीका उपाध्यक्ष निल भट्टराईले बताए । केही समय अघि सो विषयमा प्राधिकरण र कम्पनी बीच अन्तरक्रिया कार्यक्रम पनि भएको थियो । छलफलबाट सकारात्मक कुरा आएको पनि भट्टराईले जानकारी दिए । प्राधिकरणले पोड वे निर्माण गर्ने विषयलाई चासो देखाउँदै तीन वटा रुट छुट्याएको छ । सो रुट बागमती, धोविखोला र विष्णुमती करिडोर रहेको बताइएको छ । पहिलो बागमती करिडोर रुट अन्तर्गत चौबर-बल्खु–शंखमुल-तिलगंगा-पशुपति-गोकर्णेश्वर-गोकर्ण हुँदै सुन्दरीजलसम्म पोड वे पुर्याउने योजना छ र दोस्रो रुट धोविखोला रहेकाे छ । मैतीदेवी-कालो पुल हुँदै भंगालसम्म दोस्रो रुट अन्तर्गत पोड वे जोड्ने तयारी छ । यस्तै तेस्रो रुट ३ विष्णुमती करिडोर रहेकाे बताइएको छ ।
सोही सम्भावित ठाउँमा पोड वे निर्माणको सम्भाव्यता अध्ययन गरिने तयारी भइरहेको पनि भट्टराईले बताए । उनका अनुसार अध्ययन पुरा गरेर फिजिबल भएको खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुने छ । ‘प्राधिकरणबाट चालु आर्थिक वर्ष २०७९/८० का लागि बजेट कम रहेकाे छ, आगामी आर्थिक वर्ष भित्र सम्भाव्यता अध्ययन पुरा गरी सकेर बजेटको सुनिश्चित गरी डीपीआर गर्ने भन्ने कुरा भएको छ,’ उनले भने । आर्थिक वर्ष २०८३/८४ वटा कुनै एक खण्डमा निर्माणको काम सुरु हुने अनुमान गरिएकाे छ । पोड वे विदेशी लगानीमा बन्न लागेको परियोजना हो ।