हिजो र आज काठमाडौंमा जामबाट जति उपत्यका बासी आततायी भए सायद पछिल्लो दशकमै यति ठूलो जाम र कष्ट सायदै काठमाडौंबासीले बेहोरेका थिए।
हिजो देखि काठमाडौं केन्द्रित शिक्षक महासंघको माइतिघरदेखी बानेश्वर केन्द्रीत आन्दोलनले काठमाडौंको सार्वजनिक र निजि सवारी साधन सडकमा जामको कारण यताउती भौंतारिरहेका दृश्य संचारमाध्यमका हेड्लाइन बनिरहंदा यात्रुहरुको कष्ट उनिहरुका मलिन अनुहारमा प्रष्ट छचल्किरहेको अनुभव हुन्थ्यो। शिक्षकहरुले आफ्नो माग राखिरहंदा अरु जनताको सडकमा निर्बाध हिंड्न पाउने अधिकार कुण्ठित भइरहेको भान कमै देखिन्थ्यो नत यस विषयमा सरकारी तदारुकता समस्या समाधान केन्द्रीत देखिन्थ्यो। यदि दिर्घकालिन यस्ता बेला बेलामा आइपर्ने सार्वजनिक यातायातको संचालनको व्यवधानको उपाय सरकारले खोज्ने प्रयास गरिरहेको हुन्थ्यो भने आन्दोलन पनि भइरहन्थ्यो यातायातको विकल्पले यात्रु आफ्नो गन्तव्य पनि पुग्थे। तर हिजै मात्र सरकारले संविधान दिवस पारेर संचालनमा ल्याएको द्रुत बस सेवा मजाकको शैली ठहरिन्थ्यो किनकी हिजै मात्र संचालनमा आएको द्रुत बस सेवा आन्दोलनले प्रभावित बन्दा यो के विकल्प हुन सक्यो ? भन्ने प्रश्नको उत्तर पाउन सायद उपत्यकाबासीले धेरै दिन कुर्न परेन।
यदि भर्खरै नेपालमा संचालनका लागि अनुमती माग्दै सरकारका विभिन्न अंगमा धांउदै गरेको पोड रेल अर्थात माइक्रो रेल प्रविधिलाई सरकारले आफ्नो जनताको हितमा सोच्थ्यो भने आज संचालन गर्ने स्तरमा यसको निर्माण भइसक्थ्यो। काठमाडौं पोडवेले संचालनका लागि भौतिक योजना मन्त्रालय, शहरी विकास मन्त्रालय यसका विभिन्न अंग, रेल्वे विभाग, योजना आयोग धांउदै गर्दा नेतृत्वले यसलाई चासोका साथ अपनत्व लिइदिएको भए सायद आज आन्दोलन गर्नेहरु माइतिघरदेखी बानेश्वर हजारौं शिक्षकहरुले घेरिंदा त्यही सडकको माथी सार्वजनिक यातायातको रुपमा माइक्रो रेल कुदिरहेको हुन्थ्यो । आफ्नो जिविकाको जागिर, व्यवसाय गर्नेहरु आन्दोलन हेर्दै गन्तव्य पुगिरहेका हुन्थे र त्यो आन्दोलन के का लागि थियो उनिहरुले थाहा पाउन समाचारका हेडलाइन नै पढ्नुपर्ने हुन्थ्यो। पोडवे यस्तो आधुनिक माइक्रो रेल प्रविधी हो जो हालसम्मकै विश्वको सबैभन्दा कान्छो रेलको प्रविधी हो । जसले आउंदो दशकमा मेट्रो रेल, मोनोरेल र पुरानो धेरैवटा डिब्बावाला रेलको भविष्यलाई छांयामा पार्दैछ। यो रेल जमिनमा पोल गाडेर सडकको माथी आवश्यकताको उचाइमा चलाउन सकिन्छ त्यो पनि विना ड्राइभर र विना कुनै जैविक इन्धन केवल आफ्नै देशमा उत्पादित विजुली बाट विना कुनै प्रदुषण । जसलाई सडकको केही पेटी बनाउने सम्मको ठाउँभए निर्माण गरेर चलाउन सकिन्छ। तर विडम्बना यसलाई चलाउने नीति छैन देशमा, कानुन छैन देशमा जसलाई कुदाउन ४ वर्षदेखी पालिकादेखि प्रदेश सरकार, संघिय सरकारसम्म यसका बारेमा व्याख्या गर्दै वितेको छ काठमाडौं पोडवेका पदाधिकारीको समय।
यो काठमाडौं जस्तो अत्यन्त सांघुरो सडक भएको स्थान देखि देशका पहाडी हिमाली वल्लो डांडादेखी पल्लो डांडा एउटा पोलदेखी अर्को पोलको दुरी २ किमि सम्म राखेर चाहेको उचाइमा चाहेको गतिमा कुदाउन सकिन्छ। जसले आजको जामको भोगाईलाई कथा बनाइदिने हिम्मत राख्छ तर यसलाई चलाउँ के गर्नुपर्छ भन्ने कोहि नेतृत्व हिम्मत राख्दैनन। राख्छन त केवल सरकारलाई बुझाउने बेला आएको एनसेलको आयु लम्ब्याउने हिम्मत। तसर्थ देशलाई बिकासको युग देखाउने हिम्मत देखाउन यो पंक्तिकारले नेतृत्वले यो हिम्मत राख्ने बेला ढिला भइसकेको देखिरहेको छ। आशा गरौं यो देशमा आधुनिक अवरोध रहित यो यातायातको साधन चांडै नै चलाउने हिम्मत गर्ने नेतृत्व भेटिनेछ। यस यातायातको प्रविधी अझै राम्रोसँग बुझ्न हामीले यस काठमाडौं पोडवेले भोगेको ईतिहास सहितको भिडियो पनि माथि राखेका छौं। भिडियो बाट पक्कै बुझ्नुहुनेछ।